भूकम्प पीडितलाई सघाउँदै १२ बर्षीया आस्था

वैशाख १२ गतेको भूकम्प र त्यसयताको परकम्पको असर सवै भन्दा बढी बालबालिकाहरूलाई पर्यो । भूकम्पको त्रासदीबाट बाबुआमा समेत अताल्लिएपछि बालबालिकाहरूमा त्यसको असर पर्नु त स्वभाविकै हो । त्यसैका कारण भूकम्प गएको दुई महिना सम्ममा पनि भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरू पुर्ववत् अवस्थामा आउन सकेका छैनन् । केहीमा त दीर्घकालिन असर समेत देखिएको छ । तर, त्यसका अपवाद बनिन्, १२ बर्षीया आस्था घिमिरे । भूकम्प गएको दिन उनी बाबाआमासँग कपन मै थिइन् । ‘पढ्न भनेर यसो पुस्तक समाएका मात्र थिएँ, घर जोडले हल्लन थाल्यो, कोठाका सामानहरू यत्रतत्र छरिन थाल्यो ।

त्यसपछि हतार हतार बाबाआमासँग बाहिर निस्किएँ’ उनले भूकम्प जाँदाको अनुभव सुनाइन् । उनी भन्दै थिइन्– ‘मानिसहरू अताल्लिएर रोएको बालबालिकाहरू भयले चिच्याएको मैले पहिलो पटक देखेकी हुँ ।’ त्यसपछि उनलाई लाग्यो, ‘अब प्रलय हुँदैछ ।’ केही बेरमा भूकम्प त रोकियो तर त्यसको त्रास रोकिएको थिएन । त्यसदिन उनी डरका कारण कोठामा जान सकिनन् । त्यसरात उनीहरू बाहिरै सुते । भोली पल्ट उनी बाबाआमा सँग कपनका विभिन्न ठाउँहरूमा गइन् । त्यहाँको अवस्था देख्दा उनको मन कुँडियो । र, आफूबाँचेकोमा गर्वबोध भयो । त्यसपछि उनीभित्र समाजसेवाको भावना जागृत भयो । त्यसो त उनी त्यसअघि पनि आमाबाबासँग विभिन्न सामाजिक काममा सक्रिय नभएकी होइनन् । तर, भूकम्पले उनको मन पुरै बदलिइ दियो र समाज सेवामा होमिने प्रेरणा जगाइदियो । भूकम्पको चौँथो दिन उनी सिन्धुपाल्चोक पुगिन् ।

त्यहाँको अवस्था देख्दा उनको आँखा रसायो । मन भक्कानिएर आयो र समाजसेवा गर्ने भावना वास्तवमै मन मष्तिष्कमा घुम्न थाल्यो । भूकम्प पीडित क्षेत्रको बालबालिकाको अवस्था झनै दयालाग्दो थियो । बस्तीका बस्ती सखाप भएका र एउटा पनि सग्लो घर नदेखिनेसिन्धुपाल्चोकको हृदयविदार तस्विरले उनको समाजसेवाको भावनालाई भित्रैबाट मलजल गर्यो । भुकम्प पछि सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रसुवा, धादिङ नुवाकोट जिल्लाका २४ बढी स्थानमा राहत सामाग्रि लिएर पुगेकी उनी अहिले तिनै जिल्लाका बालबालिकाहरूको लागि शैक्षिक सामाग्रिहरू वितरण गरिरहेकी छिन् । उनी कपनको जोसेफ स्कूलमा कक्षा ६ मा पढ्छिन् । स्कूलबाट बँचेको समय समाजसेवामा छुट्ट्याउने निधो गरिसकेकी उनी भविष्यमा पनि समाजसेवाकै क्षेत्रमा योगदान दिने लक्ष्य समेत तय गरिसकेकी छिन् । नेपाल भूकम्पीय जोखिमका अलावा प्राकृतिक प्रकोपको पनि उच्च जोखिममा रहेको उनले कक्षामा पढेकी छिन् । त्यसैले उनि भन्छिन्– ‘हाम्रो देश प्राकृतिक प्रकोपहरूको उच्च जोखिममा छ, त्यसकारण समाजसेवाका यस्ता कामहरू सदैव हुनुपर्दछ र त्यसका लागि हामी नै सक्रिय हुनु पर्दछ ।’

‘हामीले सँगै हिड्न आग्रह गरेका छैनौँ’ उनका बुबा तथा रूओन नेपालका महासचिव ध्रुव घिमिरेले भने ‘तर छोेरी सानै देखि रूची राख्छे ।’ ‘भूकम्प पछि ऊ एकदिन घरमा बस्न मान्दिन’ घिमिरेले अगाडि भने ‘भूकम्पले उनको मनस्थिति परिवर्तन गरिदिएको छ र ऊ पूर्ण रूपमा समाजसेवामा समर्पित हुन चाहन्छे ।’ आफू जस्तै विद्यालय जाने उमेरका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा उनी खुसी देखिन्छिन् । उनको समाजसेवाको भावना देखेर आमा उमा घिमिरे पनि सन्तुष्ट छिन् । ‘सुरू सुरूमा त हामी सामाजिक काममा निस्कँदा झर्को मान्ने गर्थी तर अचेल ऊ आफैँ अभिप्रेरित भएर हिँड्न थालेकी छे’ उमाले भनिन् । कपनमा रहेको रूओन नेपाललाई विभिन्न स्वयम्सेवी संघ÷संस्थाहरूलाई राहत तथा शैक्षिक सामाग्रिहरू उपलव्ध गराउने गर्दछन् । त्यही राहत तथा शैक्षिक सामाग्रिहरू वितरण गर्ने गरेको पनि उनले बताइन् ।

प्रस्तुतीः रामनाथ खनाल

Nepalpati

Share this article